२५ असोज
सल्लीबजार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य रमेश कुमार सापकोटाले स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–सल्लीबजारमा आयोजित कार्यक्रममा उहाँले स्थानीय तहमा रहेका समस्या पहिचान गरी समाधानका लागि पहल गर्न तथा सरकारले गरिरहेका कामबारे जनतालाई जानकारी गराउनुपर्ने बताउनुभयो ।
उहाँले ‘क्यान्डिडेट क्लब’मार्फत उम्मेदवार बन्न इच्छुक व्यक्तिसँग सम्बन्धित प्रक्रिया अघि बढाइने जानकारी दिँदै विकास र सुशासनका काम जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
रास्वपा कर्णाली प्रदेश महामन्त्री ललित चन्दले सल्यानको विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । जनताको मतको सम्मान गर्दै पाँच वर्षभित्र देखिने र अनुभूति गर्न सकिने काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले जनता र कार्यकर्ताको सम्मानलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
महाधिवेशन प्रतिनिधि केवल गिरीले पार्टीको विधि र पद्धतिअनुसार सङ्गठन निर्माणमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीका सदस्य जनतामाझ पुगेर स्थानीय समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने काममा सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो ।
बनगाड कुपिण्डे नगरपालिका पार्टी सभापति लोकेन्द्र वलीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । सहभागीले स्थानीय समस्या, सङ्गठन विस्तार र पार्टीको आगामी कार्यदिशाबारे सुझाव दिएका थिए ।
रास्वपाले ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत सल्यानका विभिन्न स्थानीय तहमा नेता तथा कार्यकर्तासँग भेटघाट, अन्तरक्रिया र सङ्गठन विस्तारका कार्यक्रम सञ्चालन गरिरहेको छ ।