भुजेल बिश्वकर्माको मौलिक पञ्चेबाजा “म जन्मेको ठाँउ” सार्वजनिक

56

काठमाडैं। म्याग्दी जिल्लाको साबिक पिप्ले गाबिस, वडा नं. ४, राखु र हालः रघुगंगाा गाँउपालिका वडा नं. ३ हराखर्कमा बि.सं. २०३३ साल असार १५ गतेका दिन बुवा शेर बहादुर भुजेल बिश्वकर्मा र आमा घमाया भुजेल बिश्वकर्माको कोख बाट जन्मिएका राजन भुजेल बिश्वकर्मा चर्चित गायक र सफल ब्यवसायी संगै समाजसेबीको रुपमा परिचित छन्। उनले बि.सं. २०४६ साल देखी गाँउमा हुने मेला, बिवाह, ब्रतबन्ध, पुजाआजा, स्कुलमा हुने कार्यक्रम, अन्तर मा.बि. लोकगीत प्रतियोगिता, बेनी बजारको माघे संक्रान्ती मेला, गलेश्वरको बाला चतुर्दशी मेला, राखु कोट मेला लगायत अन्य प्रतियोगितामा भाग लिदै प्रथम स्थान हासिल गर्ने गर्दथे।

चर्चित गायक राजन भुजेल बिश्वकर्मा बि.सं. २०५१ सालमा रेडियो नेपालको क्षेत्रिय प्रसारण केन्द्र पोखरामा लोक गीत प्रतियोगितामा सन्त्वना भई स्वर परिक्षा पास गरेका थिए। उनले हाल सम्म ३० वटा भन्दा बढी गीतमा स्वर दिएका छन्। उनले स्वर दिएका गीतहरु मध्य लगनको महिनाले, मलाई त च्वाक केटी चाहिन्छ, शिरमा चन्दन, देउसी भैलो, शिरमा फुलै माया, युके लण्डनमा गीतले चर्चा कमाउन सफल भएका छन्। नेपाली गीत संगीत संगै आफ्नो पुख्यौली पेशालाई अगाडी बढाउने चाहना भएका राजन भुजेल बिश्वकर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको मानार्थ सदस्य र उपत्यका समन्वय अनामनगर समितीको सल्लाहकार पनि हुन्। उनी म्याग्दी कलाकार संघ काठमाडौंका संस्थापक अध्यक्ष पनि हुन्।

राजन भुजेल बिश्वकर्माले आफ्नो जन्मभुमी, सालनाललाई समेट्दै मौलिक पञ्चेबाजा “म जन्मेको ठाँउ” केही दिन अघी सार्वजनिक गरेका छन्। यो गीत अन्य गीत र पछिल्लो समय सांगीतिक बजारमा सार्वजनिक भएका गीतहरु भन्दा पृथक गीत छ। गीतमा जहाँ गएनी, जहाँ भएनी आफ्नो जन्मभुमी प्यारो लाग्ने अनी आफ्नो जन्मभुमी, हुर्केको बढेको र पढेको ठाँउ बिर्सन नसकिने कुरालाई समेट्ने प्रयास गरेका छन्।

“म जन्मेको गाँउ” गीतमा राजन भुजेल बिश्वकर्मा र शान्ती श्री परियारको स्वर रहेको छ भने राजन भुजेल बिश्वकर्मा कै शब्द, संगीत रहेको छ। सो गीतको भिडियोमा राजन भुजेल बिश्वकर्माको निर्देशन, मरुभुमी नारायण, अमृत महर्जनको छायांकन, रोशन धितालको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा राजन भुजेल बिश्वकर्माको छोरा बुहारी सफल भुजेल र हर्षिता भुजेल लगायत अन्य ब्यक्तिहरुलाई देख्न सकिन्छ। यस गीतलाई राजन भुजेल बिश्वकर्मा कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

Leave A Reply

Your email address will not be published.