जहाँ दुख्छ मन, त्यहीँ पुग्यो राष्ट्रिय मानव अधिकार मञ्च नेपाल : बाढीपीडितलाई राहत वितरण

6

काठमाडौं प्राकृतिक विपत्तिका कारण संकटमा परेका रसुवा र नुवाकोटका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। विध्वंशकारी बाढीबाट प्रभावित बस्तीमा राष्ट्रिय मानव अधिकार मञ्च नेपाल का सुदूरपश्चिम प्रदेश प्रमुख ईश्वर श्रेष्ठको पहल तथा समन्वयमा राहत सामग्री पुर्‍याइएको हो।
बाढीका कारण घरबास तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्कालको आवश्यकता पूरा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको बताइएको छ। राहतअन्तर्गत १५० घरपरिवारलाई प्रतिपरिवार एक बोरा चामल, दुई किलो दाल, एक लिटर खाने तेल, नुन तथा साबुन वितरण गरिएको छ।

त्यसैगरी प्रभावित परिवारको थप आवश्यकतालाई मध्यनजर गर्दै न्यानो कम्बल, ब्ल्याङ्केट तथा झुल समेत उपलब्ध गराइएको छ। विपत्तिका कारण खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको अभाव झेलिरहेका परिवारका लागि उक्त राहतले केही समय भए पनि राहतको अनुभूति गराउने अपेक्षा गरिएको छ।
बाढी तथा पहिरोजस्ता प्राकृतिक विपत्तिले जनधनमा ठूलो क्षति पुर्‍याउने मात्र नभई प्रभावित नागरिकको दैनिकीसमेत लामो समयसम्म प्रभावित पार्ने गर्दछ। यस्तो अवस्थामा सरकारी तथा गैरसरकारी निकायसँगै सामाजिक अभियन्ता, संघसंस्था र सहयोगी हातहरूको भूमिका महत्वपूर्ण हुने गर्दछ।
<span;>राहत वितरणका क्रममा श्रेष्ठले विपद्मा परेका नागरिकलाई सहानुभूति मात्र नभई आवश्यकताको समयमा साथ, सहयोग र भरोसा प्रदान गर्नु नै मानवताको वास्तविक परिचय भएको, राष्ट्रिय मानव अधिकार मञ्च नेपालका अध्यक्ष सत्यमान लामा ( मिलन ) ले आफ्नो धारणा व्यक्त गरेका छन्।

राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी व्यक्ति तथा संस्थाप्रति राष्ट्रिय मानव अधिकार मञ्च नेपालले आभार व्यक्त गरेको छ। विपत्तिमा परेका नागरिकलाई तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि समेत सहयोग आवश्यक रहेको जनाइएको छ।
यस अभियानमार्फत “जहाँ दुख्छ मन, त्यहीँ जोडिन्छ मानवता” भन्ने सन्देशसमेत प्रवाह भएको छ। आर्थिक तथा भौतिक रूपमा सहयोग गर्न इच्छुक तर प्रभावित क्षेत्रमा स्वयं पुग्न नसक्ने व्यक्ति तथा संस्थाले राष्ट्रिय मानव अधिकार मञ्च नेपालसँग समन्वय गरी सहयोग गर्न सक्ने बताइएको छ।
विपद्को समयमा गरिएको सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो अर्थ राख्न सक्छ। त्यसैले संकटमा परेका नागरिकको जीवनमा आशा र भरोसा जगाउन सबै पक्षबाट मानवीय सहयोगको आवश्यकता देखिएको छ।

Leave A Reply

Your email address will not be published.