नेकपा सल्यानले गर्यो प्रकाश ज्वालाको संयोजकत्वमा ६ वटा उपसमिति सहित निर्वाचन परिचालन समिति गठन
नेकपा सल्यान द्वारा प्रकाश ज्वालाको संयोजकत्वमा ६ वटा उपसमिति सहित निर्वाचन परिचालन समिति गठन
माघ,८ सल्यान। आगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सल्यानका उम्मेदवार रमेश कुमार मल्ललाई विजयी गराउने उद्देश्य सहित दो पार्टीले निर्वाचन परिचालन समिति गठन गरेको छ।
आज बसेको नेपाली कम्युनिष्ट पार्टी सल्यानको जिल्ला कार्यालय बैठकले पार्टीका केन्द्रीय सदस्य प्रकाश ज्वालाको संयोजकत्वमा ६ वटा उपसमिति तथा ती सबै उपसमितिका संयोजकहरू सम्मिलित निर्वाचन परिचालन सचिवालय गठन गर्ने निर्णय गरेको हो।
निर्वाचन मूल समारोह समितिको सह–संयोजकमा केन्द्रीय सदस्य टेकबहादुर बस्नेत र सचिवमा रत्नबहादुर वली रहनुभएको छ। त्यसैगरी, प्रचार–प्रसार उपसमितिको संयोजकमा रमेश गौतम, आर्थिक स्रोत परिचालन उपसमितिको संयोजकमा कृति बहादुर पुन, युवा तथा स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा लोक बहादुर डाँगी, सूचना तथा प्रविधि उपसमितिको संयोजकमा इन्द्रकुमार शर्मा तथा घोषणापत्र मस्यौदा उपसमितिको संयोजकमा भद्र सिंह बुढा रहनुभएको छ। आन्तरिक पार्टी पंक्ति र आम मतदातासम्म प्रभावकारी रूपमा पुग्ने लक्ष्यसहित निर्वाचन अभियानलाई तीन चरणमा सञ्चालन गरिने भएको छ।
नेकपा सल्यानका अनुसार पहिलो चरण अन्तर्गत कार्यकर्ता प्रशिक्षण, घरदैलो कार्यक्रम तथा चुनाव चिन्ह वितरणका कार्यक्रम सञ्चालन गरिने छ । माघ ११ गते छत्रेश्वरी, माघ १२ गते कपुरकोट, माघ १३ गते शारदा, माघ १४ गते सिद्धकुमाख र माघ १५ गते बागचौरमा कार्यक्रम आयोजना गरिनेछ। त्यसैगरी माघ १६ गते दार्मा, माघ १७ गते कुमाख, माघ १८ गते बनगाड कुपिण्डे र माघ १९ गते कालिमाटीमा कार्यक्रम तय गरिएको छ। माघ २० गते त्रिवेणीमा विभिन्न समितिहरूको संयुक्त समीक्षा कार्यक्रम आयोजना गरिने बताइएको छ ।
दोस्रो चरण अन्तर्गत माघ २१ गतेदेखि फागुन १५ गतेसम्म तीनवटा टोली गठन गरी जनसभा, जनभेला तथा जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ। साथै तेस्रो चरणमा फागुन १६ देखि १८ गतेसम्म बुथ प्रतिनिधि निर्धारण, प्रशिक्षण तथा मतदातासँग प्रत्यक्ष भेटघाटका कार्यक्रम सञ्चालन गरिने समेत बताइएको छ।
