सल्यानमा ११ जना सवार अटो दुर्घटना, १० घाइते २ जनाको अवस्था गम्भिर

32

लेकाली खबर सम्वाददाता

माघ १९, सल्यान। सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित सिँचाइ कार्यालय नजिक खलंगा–श्रीनगर सडकखण्डमा  अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा.१ ह २१९५ नम्बरको अटो दिउँसो करिब २ बजे आफैँ अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। अटोमा चालकसहित ११ जना सवार रहेका थिए।
दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ। घाइतेमध्ये सिद्दकुमाख गाउँपालिका–१ का ७८ वर्षीय टरबहादुर रेउले र ३ वर्षीया सृष्टि बिकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ।
अटो चालक शारदा नगरपालिका–६ का २५ वर्षीय अर्जुन डाँगी सकुशल रहेका छन्। चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको र उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक पूर्णबहादुर केसीको कमाण्डमा ९ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। घाइते सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.