असार ,१८
-जितबहादुर शाह
वनगाड कुपिण्डे नगरपालिका कर्णाली प्रदेशअन्तर्गत सल्यान जिल्लाको पश्चिम उत्तरतर्फ महाभारत पर्वत श्रृङ्खलाको मध्यभागमा अवस्थित छ । यस नगरपालिकाको पूर्वमा कुमाख र सिद्ध कुमाख गाउँपालिका, पश्चिममा सुर्खेत जिल्ला, उत्तरमा जाजरकोट जिल्ला र दक्षिणमा शारदा नगरपालिका र कालीमाटी गाउँपालिका रहेका छन् । करिब ३३८.२१ बर्ग कि.मी. क्षेत्रफल रहेको यो नगरपालिका समुद्र सतहबाट ५५० मिटर देखि २३०० मिटरसम्मको उचाइमा रहेको छ । साविकका सातवटा गाविसहरू ः देवस्थल, बामे, मूलखोला, घाजरीपिपल, कुपिण्डे दह, माझकाँडा, र निगालचुलालाई मिलाएर नयाँ संविधान र नयाँ संघीय व्यवस्था अनुसार २०७३ साल फागुन २७ गते यस नगरपालिकाको विधिवत स्थापना गरिएको थियो । बाह्रवटा वडा रहेको यस पालिकामा रहेको कुपिण्डे दह यस पालिकाको प्रमुख पर्यटकीय क्षेत्र हो । यस आलेखमा भने यस पालिकाको अन्य कुनै पक्षतिर पनि नलागी यस पालिकामा रहेका ६५ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग भलाकुसारी र अन्तरक्रिया गर्दा विद्यालयले गरेका शैक्षिक प्रयासहरुको बारेमा यो पङ्क्तिकारलाई जानकारी भएका कुराहरूलाई मात्र प्राथमिकता दिएर समेट्ने प्रयास गरिएको छ ।
वनगाड कुपिण्डे नगरपालिकामा आठवटा माध्यमिक विद्यालयहरु छन् । अन्तरक्रिया र भलाकुसारीको क्रममा हरेक माध्यमिक विद्यालयहरुको नेतृत्वमा तिनका फिडर विद्यालयहरुले समेत गरेका केही उल्लेख्य, अनुकरणीय वा फरक कार्यहरुको बारेमा सम्बन्धित माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूबाट प्रस्तुत गरिएको थियो । यसरी प्रस्तुत गर्ने क्रममा मुक्ति माध्यमिक विद्यालय, बामेको फिडर विद्यालयको रुपमा रहेको सरस्वती प्राथमिक विद्यालय, फुर्केसल्लीले विद्यालयमा कसैले पनि कसैलाई तँ, तिमी भनेर भाषा प्रयोग नगर्ने र सबैले सबैलाई तपाईं शब्दले सम्बोधन गर्ने गरी आचारसंहिता निर्माण गरी कार्यान्वयन गरेको रहेछ । त्यसैगरी जनता प्राथमिक विद्यालय, डोप्केले विद्यार्थीको व्यक्तिगत सरसफाइमा सुधार गर्नका लागि प्रत्येक विद्यार्थीहरुको कपाल विद्यालयमा नै काट्ने व्यवस्था मिलाएको रहेछ । बालज्योति प्राथमिक विद्यालय, पाट्केले विद्यालयमा अनुशासन, नैतिकता र सकारात्मक व्यवहारको सिकाइका लागि शिक्षकहरुबाट नै त्यसको आरम्भ गरेर विद्यार्थीहरुसम्म पु¥याउने उद्देश्यका साथ तदनुरुपका कार्यक्रमहरु सञ्चालन गरेको रहेछ ।
त्यसैगरी जनकल्याण प्राथमिक विद्यालय राइराले दुनियाँमा असम्भव केही छैन भन्ने भावलाई समेट्दै शिक्षण सिकाइमा ‘म सक्छु, तिमी सक्छौ र हामी सक्छौं’ भन्ने सोचलाई व्यवहारमा उतार्न प्रयत्न गरेको बोध भयो । आधारभूत विद्यालय घर्तीगाउँले हरेक हप्ता पालो मिलाई कुनै एउटा कक्षाका अभिभावकहरुलाई बोलाएर बालबालिकाको पठनपाठनको बारेमा अन्तरक्रिया गर्ने गरेको रहेछ । अमर प्राथमिक विद्यालय, काफलपानीले प्रार्थना समयमा सामान्य ज्ञान र समसामयिक जानकारीमूलक प्रश्नहरु सोध्ने व्यवस्था गरिएको कुरा अवगत भयो । लिडर विद्यालय मुक्ति मा.वि. आफैले विद्यार्थी आचारसंहिता निर्माण गर्दा विद्यार्थीहरुसँगको छलफल र सहमतिमा निर्माण गरेको कुरा उल्लेख गर्दै यस कार्यले विद्यार्थीहरूको आचारसंहिता पालना गर्ने प्रवृत्ति बढ्न गई यसले विद्यार्थी अनुशासनको पाटो समेत सशक्त भएको कुरा उल्लेख गरियो । यसका साथै प्रार्थना समयमा कक्षा शिक्षक स्वयं उपस्थित हुने र प्रार्थनाको काम सकिएपछि विद्यार्थीको लाइनसँगै कक्षा शिक्षक पनि कक्षामा प्रवेश गरेर प्रत्येक कक्षाको पहिलो पिरियड शुरु हुने कुरा प्रस्तुतिको क्रममा बोध भयो । यसका साथै विद्यालयले तहगत इन्चार्ज तोकेर तहगत इन्चार्जमार्फत सम्बन्धित तहको शिक्षण सिकाइ क्रियाकलापको अवलोकन गरी आवश्यक पृष्ठपोषण र सुझाव प्रदान गर्ने गरिएको कुरा पनि प्रस्तुतिको क्रममा बोध भयो ।
प्रतिभा माध्यमिक विद्यालय जयतपानीले एसइई र कक्षा ८ को अन्तिम परीक्षामा सतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने विषयका शिक्षकहरुलाई सम्मान र पुरष्कृत गर्ने कार्य गरिएको, त्यसैगरी एसइई परीक्षामा हरेक वर्ष सबैभन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई पनि सम्मान र पुरस्कृत गर्ने गरिएको, सम्पूर्ण शिक्षक र विद्यार्थीहरु तोकिएको पोशाकमा बिहानको ९.५५ बजे विद्यालयमा प्रवेश गरिसक्नु पर्ने र त्यसपछि विद्यालयको गेट बन्द हुने व्यवस्था गरिएको र अभिभावकको भावनालाई मध्यनगर राखी कक्षा १ देखि कक्षा ४ सम्म अङ्ग्रेजी भाषामा पनि पठनपाठन गर्ने कार्य आरम्भ गरेको जस्ता कार्यहरु सञ्चालन र कार्यान्वयन गरेको कुरा प्रस्तुतिको क्रममा अवगत भयो । यसैगरी उक्त विद्यालयकै फिडर विद्यालयको रुपमा रहेको जनकल्याण आधारभूत विद्यालय स्वाराले, विगत वर्षदेखि नै कक्षा ८ को अन्तिम परीक्षामा उत्तीर्ण परिणाम सतप्रतिशत हुँदै आएको, रुम टु रिडले सञ्चालन गरेको तालिम कार्यक्रमपश्चात् शिक्षण सिकाइमा सुधार गरी कक्षा १ का विद्यार्थीको कक्षोन्नति दरलाई समेत सतप्रतिशत पु¥याउन सफल भएको, विद्यालयको जुनसुकै काम गर्दा पनि शिक्षक, विद्यार्थी र अभिभावकको रुचि, आवश्यकता र दक्षताका आधारमा उपयुक्त किसिमको टिम बनाइ हरेक कामहरु सम्पादन गर्ने गरेको बोध भयो । त्यसैगरी शारदा आधारभूत विद्यालय, क्युरेनीले शिक्षक अनुपस्थित भई तल्लो तहका कक्षाहरु खाली हुन गएमा माथिल्लो कक्षाका जेहेन्दार विद्यार्थीहरुबाट त्यस्ता कक्षाको पठनपाठन गर्ने गराउने परिपाटीको विकास गरिएको कुरा पनि प्रस्तुतिको क्रममा बोध भयो ।
कृष्ण माध्यमिक विद्यालय, बालुवासङ्ग्रहीले विद्यालय खुलेको प्रत्येक दिन विद्यालय व्यवस्थापन समितिको एकजना सदस्य र एकजना अभिभावकले विद्यालयको विविध पक्षको अनुगमन गर्ने कार्य सञ्चालन गरिएको, कक्षा शिक्षकले विद्यार्थीहरुको बसाइ व्यवस्थापन विद्यार्थीहरुको मिश्रित क्षमता (जेहेन्दार र पछाडि परेको) का आधारमा हुने गरी गर्ने गरिएको, त्यसैगरी कक्षाका क्षमतावान् विद्यार्थीले पछि परेका विद्यार्थीको र पछि परेका विद्यार्थीहरुले क्षमतावान विद्यार्थीको कपि चेक वा कपि अवलोकन गर्ने गरी गृहकार्य जाँच गर्ने व्यवस्था गरिएको, पछि परेका विद्यार्थीहरूलाई सहयोग पुग्ने गरी प्रश्नको सही जवाफ स्मार्टबोर्डमा देखाउने गरिएको, विद्यार्थी घरमा गएर बेलुका छ बजेसम्म अध्ययन र गृहकार्यमा विद्यार्थी लाग्नु पर्ने र त्यसो नगरी विद्यार्थी बाहिर कतै घुम्न गएको देखिएमा सोको जरिवाना वापत एकपटकका लागि पाँच सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको र उक्त सजायवापतको रकम सूचना दिने व्यक्तिलाई दिने व्यवस्था गरिएको कुरा पनि प्रस्तुतिको क्रममा जानकारी भयो ।
त्यसरी नै कृष्ण माध्यमिक विद्यालयको वडा नं ७ मा रहेको फिडर विद्यालय बालकल्याण प्राथमिक विद्यालयले प्रार्थना समयमै प्रश्न सोध्ने र सबैभन्दा बढी प्रश्नको उत्तर दिने विद्यार्थीलाई ‘लिडर अफ दि डे’ घोषणा गर्नुका साथै हरेक दिन साँङ्गीतिक पिटी सञ्चालन गर्ने गरेको र यस्तो साङ्गीतिक पिटी लक्ष्मी प्राथमिक विद्यालय मैदुले पनि सञ्चालन गर्ने गरेको जानकारी बोध भयो । त्यसैगरी कालिका प्राथमिक विद्यालय, चौताराले समूह निर्माण गरी कक्षा क्रियाकलापहरुमा अन्तरक्रिया र समस्या समाधान गर्ने गरिएको कारण विद्यार्थीहरुमा अपेक्षाकृत सक्रियता देखिएको, जीवनज्योति प्राथमिक विद्यालय राम्चेले शिक्षक, अभिभावक र विव्यसको सहकार्यमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको जानकारी बोध भयो । यसका अतिरिक्त लिडर विद्यालय कृष्ण मा.वि.ले विद्यार्थीहरुको सक्रियतामा फुड फेष्टिवल सञ्चालन गर्ने गरेको र त्यस्ता फेष्टिवलहरुबाट विद्यार्थीहरुले नाफा आर्जन गरेको अनुभव रहेको कुरा पनि प्रस्तुतिको क्रममा प्र.अ.बाट अभिव्यक्त गरियो ।
नवज्योति माध्यमिक विद्यालय, अँधेरी, कुपिण्डेले अनुपस्थित हुने विद्यार्थीहरुबाट प्रतिदिन जनही दश रुपैयाँ जरिवानावापत लिने गरेको र कक्षा व्यवस्थापन र एकाई परीक्षामा उक्त कक्षाबाट उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यमा उक्त रकम खर्च गर्ने गरेको, बालक्लवको संयोजकत्व र सक्रियतामा विद्यालयमा सरसफाइ र वृक्षारोपण कार्यक्रम सञ्चालन हुने गरेको, नवज्योति माध्यमिक विद्यालयअन्तर्गतका फिडर विद्यालयहरुमा नियमित रुपमा विद्यार्थीको बीचमा अक्षर लेखन सुधारका लागि हस्त लेखन (ह्याण्डराइटिङ) प्रतियोगिता सञ्चालन गर्ने गरेको, हरेक दिन अपरान्ह ४ बजे विद्यालय छुट्टी भएपछि विद्यार्थीहरुलाई पङ्क्तिबद्ध भएर घर प्रस्थान गर्ने परिपाटी मिलाइएको, शिक्षकहरुले शिक्षण सिकाइ कार्य सञ्चालन गर्नका लागि विद्यार्थीहरुको समेत सहयोगमा विद्यालयमै शैक्षिक सामग्री निर्माण कार्य गर्ने गरिएको जानकारी प्रस्तुतिको क्रममा बोध भयो । यसैगरी आधारभूत विद्यालय लाहाघाटले अन्तरसदनात्मक किसिमले जिम्मेवारी बाँडफाँड गरी विद्यालयमा फूलबारी निर्माण गरेको कुरा पनि प्रस्तुतिको क्रममा बोध भयो ।
त्यसैगरी त्रिभुवन माध्यमिक विद्यालय, च्यूराले बिहानीको पिटी व्यवस्थापनकै क्रममा प्रतिभा पहिचान गर्ने कार्यक्रम पनि सञ्चालन गर्ने गरेको, कुपिण्डेश्वरी आधारभूत विद्यालय थाराले बिहानको प्रार्थना र पिटीको समयमा नै विद्यार्थीहरुको पनि हाजिरी गर्ने गरेको, अमरप्रकाश आ.वि. गिठाचौर र महादेव आवि ज्यामिरेले विद्यार्थी, अभिभावक र शिक्षकको दूरीलाई नजिक गर्नका लागि एकअर्काको फोन नम्बर आदानप्रदान गरी फोन मार्फत र भेटेर पनि भलाकुसारी गर्ने कार्यलाई विद्यार्थीको शैक्षिक उपलब्धि सुधारका निम्ति उपयोग गर्ने गरेको, ध्रुवतारा आ.वि. च्यूराले सम्बन्धित कक्षाका विद्यार्थीहरुले सिक्नु पर्ने आधारभूत कुराहरुलाई कक्षामा चित्र र चार्ट बनाइ प्रस्तुत गर्ने गरेको, जनता आधारभूत विद्यालय, बस्नेउराले हरेक दिन हरेक कक्षाका निम्ति १५ मिनेटका लागि ह्याण्डराइटिङ अभ्यास गर्ने गराउने गरेको, शैक्षिक जनचेतना आधारभूत विद्यालय, माल्पेले बालगीतहरुबाट कक्षा शुरु गर्ने गरेको, दिपेन्द्र आधारभूत विद्यालय, राउचे र सरस्वती आधारभूत विद्यालय सुनौलीले कक्षागतरुपमा क्याप्टेनको व्यवस्था गरी सानातिना समस्याहरु क्याप्टेनको समन्वयमा कक्षामै समाधान गर्ने परिपाटी बसालिएको कुराको प्रस्तुतिको क्रममा अवगत भयो ।
सिद्धेश्वरी माध्यमिक विद्यालय, माझकाँडाले कक्षा ५ देखि कक्षा १० सम्म स्मार्ट बोर्डको प्रयोग गरी शिक्षण सिकाइ गर्ने गरेको, विद्यार्थीहरुबाटै सरसफाइ समिति निर्माण गरी विद्यालयमा सरसफाइको व्यवस्थापन गरिएको, प्रार्थनाकै समयमा एकाधजना विद्यार्थीहरुबाट प्रश्न निर्माण गरी विद्यार्थीहरुलाई नै सोध्ने कार्यक्रम सञ्चालन गरिएको, आधारभूत विद्यालय थापाचौरमा कक्षा १ देखि ५ सम्मका कक्षाकोठाहरुमा अधिकतम रुपमा छापायुक्त शैक्षिक सामग्री प्रयोग गरी कक्षालाई बालमैत्री बनाउन प्रयत्न गरेको र विद्यालय विदा भइसकेपछि दिनभरिका क्रियाकलापको छोटो समीक्षा गर्ने गरेको, दुर्गादेवी आ.वि. भदाले र सरस्वती प्रा.वि. चौरमा बालविकासदेखि सबै कक्षाहरुमा फोहोर व्यवस्थापनका लागि डष्टबिनको व्यवस्था गरेको तथ्य पनि प्रस्तुतिको क्रममा जानकारी भयो । त्यसरी नै प्रभाकर माध्यमिक विद्यालय, देवस्थलले कक्षा १ देखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरेको, खाली पिरियडहरुमा कक्षा मनिटरबाट शिक्षण सिकाइको व्यवस्था गरेको, प्रार्थना समयमै विद्यार्थीहरुको जन्म दिन मनाउने गरिएको, विद्यालयमा अग्र्यानिक खाजाको व्यवस्था गरिएको, अभिभावकहरुमार्फत विद्यालय अनुगमनको व्यवस्था गरिएको, यी सबै कारणले विद्यालयको शैक्षिक उपलब्धि अपेक्षित रहेको र विद्यार्थी संख्या पनि बढ्दो क्रममा रहेको तथ्य प्रस्तुतिको क्रममा अवगत भयो ।
उनीहरुले सम्पादन गरेका उल्लिखित कार्यहरुको प्रस्तुति सुन्दै गर्दा वनगाड कुपिण्डेका प्रधानाध्यापकहरु शैक्षिक सुधारको सवालमा गम्भीर देखिएको आभास भयो । विद्यार्थीहरुबाट नै शिक्षण सिकाइ सुधार सम्बन्धी योजना (प्लस) निर्माण गरी कार्यान्वयन गर्ने, कोही न कोही शिक्षकहरुले हरेक विद्यार्थीको जिम्मा लिएर मनोपरामर्श सेवा सञ्चालन गर्ने, प्रशंसात्मक खोज बिधिका माध्यमबाट शिक्षण सिकाइलाई गति दिने, माध्यमिक विद्यालयहरुमा नियमित रुपमा वार्षिकरुपमा स्मारिका प्रकाशन र अन्य विद्यालयमा भित्ते पत्रिका प्रकाशन गर्ने, मानवीय विधि र सम्बन्धका आधारमा हरेक शिक्षकले हरेक विद्यार्थीको आनीबानी र पृष्ठभूमि बुझेर सम्बन्ध विस्तार गर्ने लगायतका कार्यक्रमहरुमा समेत छलफलका क्रममा विद्यालयका प्रधानाध्यापकहरु सहमत देखिएका छन् । यो मामिलामा पालिका पनि गम्भीर देखिन्छ । शिक्षा योजना निर्माण गरी कार्यान्वयनको चरणमा छ । स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक पनि निर्माण गरी कार्यान्वयन गरिरहेको छ तथापि यत्ति मात्रै पर्याप्त छैन । जति गर्न सकिन्थ्यो त्यति हुन सकेको देखिदैन । आशा गरौं, वनगाड कुपिण्डेका विद्यालयहरु अझै अब्बल हुने क्रममा पालिका र प्रधानाध्यापकहरू थप प्रयासमा जुट्नेछन् र जुटेको देख्न पाइनेछ । साभार : युगवोध