भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु¥यायो। बाढीमा ठूलो संख्यामा मानिसले ज्यान गुमाएका छन् भने कैयौँ अझै बेपत्ता छन्। हजारौँ परिवार घरबारविहीन बनेका छन्। विपद्बाट विस्थापित उनीहरूका लागि नुवाकोटलगायत विभिन्न स्थानमा अस्थायी होल्डिङ सेन्टर स्थापना गरी सुरक्षित आश्रय, खाना र आवश्यक सेवाहरू उपलब्ध गराउने काम भइरहेको छ।
यही क्रममा करुणा केयरले बाढी आएको भोलिपल्टै, भदौ ११ गतेदेखि नुवाकोटको बट्टारमा पुगेर राहत तथा मानवीय सेवामा निरन्तर खटिँदै आएको छ। नेपाली सेनाले उद्धार गरेर ल्याएका बाढी प्रभावितलाई सुरक्षित आश्रयस्थलमा राख्दै उनीहरूको तत्कालीन आवश्यकता पूरा गर्न करुणा केयरका कर्मचारी तथा स्वयंसेवकहरू अहोरात्र खटिएका छन्।
हाल करुणा केयरले विदुर नगरपालिका–२ र ४ मा दुई वटा अस्थायी होल्डिङ सेन्टर सञ्चालन गरिरहेको छ। ती दुई सेन्टरमा क्रमशः २४५ र १४० जना बाढी प्रभावितले आश्रय तथा विभिन्न सेवा पाइरहेका छन्। कर्मचारी तथा स्वयंसेवक गरी २६ जना दिनरात उनीहरूको सेवामा परिचालित छन्।
नुवाकोटमा सञ्चालित २४ वटा अस्थायी होल्डिङ सेन्टरमध्ये करुणा केयरले सञ्चालन गरेको बट्टार कबडहलस्थित होल्डिङ सेन्टरमा भदौ २२ गते राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गर्नुभएको थियो। उहाँले बाढी प्रभावितसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था, समस्या र गुनासो सुन्नुभएको थियो।
धेरैवटा होल्डिङ सेन्टरमध्ये करुणा केयरले सञ्चालन गरेको सेन्टरलाई राष्ट्रपतिको अवलोकनका लागि छनोट गरिनुलाई संस्थाले आफ्नो सेवाको सम्मान र मूल्यांकनका रूपमा लिएको छ। यसले विपद्को समयमा करुणा केयरले पु¥याएको मानवीय सेवाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण भएको संस्थाको विश्वास छ।
करुणा केयरका कार्यकारी निर्देशक धनराज घिमिरेका अनुसार बाढीपछिका सुरुवाती चार दिन अत्यन्त कठिन थिए। उद्धार गरिएका प्रभावितलाई प्रहरीका सवारीसाधनमार्फत सेन्टरमा ल्याउने क्रम निरन्तर चलिरहेको थियो।
घिमिरेले भने, “प्रहरीका गाडीमा उद्धार गरेर ल्याइएका प्रभावितहरू दिनरात रोइरहेका हुन्थे। कतिपयको पीडा र अवस्था यति दर्दनाक थियो कि सम्हाल्नसमेत निकै गाह्रो हुन्थ्यो। त्यस्तो अवस्थामा पनि हामी दिनरात उहाँहरूको सेवामा खटिरह्यौँ।”
बाढीपछिका प्रारम्भिक दिनमा स्थानीय तहबाट पर्याप्त जनशक्ति परिचालन हुन नसक्दा करुणा केयरले प्रहरीको सुरक्षा सहयोगमा दुईवटै होल्डिङ सेन्टर आफैं व्यवस्थापन गरेको थियो। अहिले भने स्थानीय सरकारले कर्मचारी परिचालन गर्न थालेको छ भने विभिन्न संघसंस्थाले पनि राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गरिरहेका छन्।
होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश प्रभावितले आफ्ना आफन्त गुमाएका छन्। रसुवाका एक प्रभावितले आफ्नो परिवारका १० जनामध्ये ६ जनालाई बाढीमा गुमाएको बताएका छन्।
त्यस्तै, एक ६ वर्षीय बालकले आफ्नै आँखाअगाडि आमा, सानीआमा र दिदीलाई बाढीले बगाएको बताएको करुणा केयरले जनाएको छ। यस्ता हृदयविदारक घटनाले बाढी प्रभावितको पीडा अझ गहिरो बनाएको छ।
‘अब कहाँ बस्ने?’, ‘बाँचिरहेका बालबालिकालाई कसरी र कहिले पढाउने?’, ‘जीविकोपार्जन कसरी गर्ने?’ जस्ता प्रश्नले प्रभावित परिवारलाई सताइरहेको छ। घर, खेतबारी, सम्पत्ति र आफन्त गुमाएका उनीहरूका लागि राहतसँगै दीर्घकालीन पुनस्र्थापना अहिलेको प्रमुख आवश्यकता बनेको छ।
हाल होल्डिङ सेन्टरमा गाँस, बास र कपासको आधारभूत व्यवस्था गरिएको छ। प्रभावितलाई खाना, पानी, कपडा, सरसफाइ तथा सुरक्षित बसोबासको व्यवस्था मिलाइएको छ। करुणा केयरबाट प्राप्त सेवाप्रति प्रभावितहरूले सन्तुष्टि व्यक्त गर्दै कठिन समयमा साथ दिएकोमा धन्यवाद दिने गरेका छन्।
यसै क्रममा २०० घर परिवारका लागि राहात पनि वितरण गरेको छ ।
तर होल्डिङ सेन्टरमा सधैं बस्न सम्भव छैन। त्यसैले प्रभावित परिवारलाई सुरक्षित स्थायी बसोबास, बालबालिकाको शिक्षा, जीविकोपार्जन र मनोसामाजिक सहयोगसहितको दीर्घकालीन पुनस्र्थापना आवश्यक देखिएको छ।
विपद्को तत्कालीन संकट केही कम हुँदै गए पनि प्रभावित परिवारको वास्तविक संघर्ष भने अब सुरु हुँदैछ। उनीहरूले गुमाएको घर, जमिन, सम्पत्ति र आफन्त फर्काउन नसकिने भए पनि सुरक्षित भविष्य निर्माणका लागि राज्य, स्थानीय तह, निजी क्षेत्र तथा सामाजिक संघसंस्थाको संयुक्त प्रयास आवश्यक रहेको करुणा केयरले जनाएको छ।