सिम्तामा हरेक संरचना बने, सेवा र जन शक्तिको अभाव

भदौ ,२६ सुर्खेत  – सुर्खेतको सिम्ता गाउँपालिकामा पछिल्ला वर्षहरूमा विकासका नाममा विभिन्न भौतिक संरचना निर्माण भएका छन्। विद्यालयका भवनदेखि स्वास्थ्य संस्था, सडक, खानेपानी आयोजना र कृषि पूर्वाधारसम्मका संरचना बनेका छन्। तर निर्माण भएका संरचनामा आवश्यक जनशक्ति, नियमित सेवा र प्रभावकारी व्यवस्थापन हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्थानीयको गुनासो छ।
निवर्तमान गाउँपालिका सरकारले पाँच वर्षको अवधिमा विभिन्न क्षेत्रमा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको थियो। वर्तमान सरकारले पनि ती संरचनालाई निरन्तरता दिँदै नयाँ काम अघि बढाइरहेको छ। तर अबको चुनौती भनेको नयाँ संरचना थप्नु मात्रै नभई बनेका संरचनालाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनु हो।
शिक्षा : भवन छन्, विद्यार्थी र शिक्षकको समस्या
सिम्ताका विभिन्न विद्यालयमा नयाँ भवन तथा कक्षाकोठा निर्माण भएका छन्। विद्यालयको भौतिक अवस्था विगतको तुलनामा सुधारिएको भए पनि कतिपय विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको अवस्था छ।
एकातिर विद्यालय भवन बनेका छन् भने अर्कोतर्फ कतिपय विद्यालयमा शिक्षकको रिक्त पद पूर्ति हुन नसकेको समस्या छ। आवश्यक शिक्षक नहुँदा शैक्षिक गुणस्तरमा असर पर्ने देखिन्छ। त्यसैले अब विद्यालय भवन निर्माणभन्दा विद्यार्थी टिकाउने र आवश्यक शिक्षक व्यवस्थापन गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।
स्वास्थ्य : भवन बने, जनशक्ति र उपकरणको खाँचो
स्वास्थ्य क्षेत्रमा पनि भौतिक पूर्वाधार निर्माण भएका छन्। स्वास्थ्य संस्थाका भवन बनेपछि स्थानीयलाई सेवा सहज हुने अपेक्षा गरिएको थियो। तर कतिपय ठाउँमा भवनअनुसार आवश्यक स्वास्थ्यकर्मी, उपकरण र नियमित स्वास्थ्य सेवा उपलब्ध हुन नसकेको गुनासो छ।
स्वास्थ्य संस्था सञ्चालनका लागि भवन मात्र पर्याप्त हुँदैन। दक्ष जनशक्ति, औषधि, उपकरण र नियमित सेवा उपलब्ध भए मात्रै नागरिकले त्यसको वास्तविक लाभ लिन सक्छन्। त्यसैले वर्तमान सरकारका लागि निर्माण भएका स्वास्थ्य संरचनालाई पूर्ण क्षमतामा सञ्चालन गर्नु मुख्य चुनौती बनेको छ।
खानेपानी : आयोजना बने पनि नियमित पानीको प्रश्न
सिम्ताका विभिन्न बस्तीमा खानेपानीका आयोजना निर्माण तथा विस्तार भएका छन्। खानेपानीको पहुँच विस्तार भए पनि कतिपय स्थानमा नियमित पानी आपूर्ति, आयोजना मर्मतसम्भार र दीर्घकालीन व्यवस्थापनको समस्या देखिन्छ।
खानेपानीका संरचना निर्माण गरेर मात्रै समस्या समाधान हुँदैन। मुहान संरक्षणदेखि पाइपलाइन, वितरण प्रणाली र नियमित मर्मतसम्भारसम्मको दिगो व्यवस्थापन आवश्यक छ।
यातायात : सडक पुगे, सहज यात्रा अझै चुनौती
गाउँपालिकाका विभिन्न क्षेत्रमा सडक निर्माणले यातायातको पहुँच विस्तार गरेको छ। तर वर्षायाममा सडक बिग्रने, नियमित मर्मत नहुने र कतिपय ग्रामीण सडकमा यातायात सञ्चालन कठिन हुने समस्या अझै कायम छ।
अब नयाँ सडकको संख्या थप्नेभन्दा निर्माण भएका सडकको स्तरोन्नति, मर्मत र बाह्रै महिना यातायात सञ्चालन हुने वातावरण बनाउनुपर्ने आवश्यकता देखिन्छ। सडक बनेपछि त्यसको नियमित संरक्षण र गुणस्तरीय सञ्चालनमा पनि स्थानीय सरकारको ध्यान जानुपर्ने देखिन्छ।
कृषि : तरकारी उत्पादन हुन्छ, भण्डारणको अभाव
सिम्तामा तरकारी तथा अन्य कृषि उत्पादनको सम्भावना राम्रो छ। किसानले उत्पादन गरिरहेका छन्। तर उत्पादन भएको तरकारीलाई सुरक्षित रूपमा राख्ने र उचित समयमा बजारमा पुर्‍याउने भण्डारण तथा बजार व्यवस्थापनको समस्या किसानका लागि चुनौती बनेको छ।
विशेषगरी निर्माण गरिएको कोल्ड सेन्टरको भवन लथालिङ्ग अवस्थामा रहनु कृषि क्षेत्रको विडम्बनाका रूपमा देखिएको छ। किसानले उत्पादन गर्ने तरकारी तत्काल बिक्री गर्नुपर्ने बाध्यताका कारण उचित मूल्य नपाउने अवस्था आउन सक्छ।
त्यसैले अब कृषि उत्पादन बढाउने कार्यक्रमसँगै कोल्ड सेन्टर सञ्चालन, संकलन केन्द्रको प्रभावकारी व्यवस्थापन, बजारको सुनिश्चितता र किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था आवश्यक छ।
अब संरचनाबाट सेवातर्फ ध्यान कहिले?
सिम्तामा विगतमा निर्माण भएका संरचनाले विकासको आधार तयार गरेका छन्। तर भवन बनेर मात्रै नागरिकको आवश्यकता पूरा हुँदैन। विद्यालयमा शिक्षक र विद्यार्थी, स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र उपकरण, धारामा नियमित पानी, सडकमा सहज यातायात र किसानका लागि बजार तथा भण्डारण आवश्यक हुन्छ।
निवर्तमान सरकारले निर्माण गरेका संरचनाको उपयोगिता बढाउने र वर्तमान सरकारले त्यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने देखिन्छ। अब सिम्ताको विकासको मापन कति भवन बने भन्ने होइन, बनेका भवनबाट नागरिकले कति सेवा पाए भन्ने आधारमा हुनुपर्ने स्थानीयको अपेक्षा छ।

 सिम्ता : विद्युत् पहुँच अझै अपूरो
‘उज्यालो सिम्ता’ अभियान तथा विद्युत् विस्तारका काम अघि बढाइए पनि गाउँपालिकाका नौ वटै वडामा अझै पनि भरपर्दो र नियमित विद्युत् सेवा पुग्न सकेको छैन।
कतिपय बस्तीमा विद्युत् लाइन पुगे पनि भोल्टेजको समस्या, नियमित आपूर्ति नहुनु र पूर्वाधारको अभाव देखिन्छ।
विकासका अन्य संरचना निर्माणसँगै अब सिम्ताका सबै घरधुरीमा भरपर्दो विद्युत् पहुँच पुर्‍याउने कामलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।
‘उज्यालो सिम्ता’को लक्ष्य कागजमा मात्र सीमित नभई नौ वटै वडाका नागरिकले व्यवहारमै गुणस्तरीय विद्युत् सेवा पाउने अवस्था सिर्जना गर्न आवश्यक छ।
यातायात : वर्षमा १० किलोमिटर सडकसमेत पिच हुन सकेन
सिम्ता गाउँपालिकाका नौ वटै वडामा सडक सञ्जाल विस्तार भए पनि वर्षमा ५ किलोमिटर सडकसमेत कालोपत्रे हुन नसकेको अवस्था छ।
ग्रामीण सडक निर्माणमा बजेट खर्च भए पनि सडकको स्तरोन्नति र कालोपत्रे गर्ने गति निकै सुस्त रहेको स्थानीयको गुनासो छ।
चुनावका बेला जनप्रतिनिधिले सडक, खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्यलगायतका विषयलाई प्राथमिकताका साथ उठाउने गरेका छन्। तर चुनावी एजेण्डा पम्पलेटमा आकर्षक देखिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको आरोप लाग्दै आएको छ।
नागरिकले अब आश्वासनभन्दा समयसीमा तोकेर कामको परिणाम देखाउनुपर्ने अपेक्षा गरेका छन्।
विकासका योजना घोषणा गर्ने तर कार्यान्वयनमा ढिलाइ हुने प्रवृत्तिले स्थानीयमा जनप्रतिनिधिप्रति प्रश्न उठ्न थालेको छ।
मिसन २०८४ का आकांक्षीलाई सिम्ताली जनताको भावना बुझ्न अपिल
मिसन २०८४ मा उम्मेदवारी दिने चर्चामा रहेका नयाँ तथा पुराना सबै अनुहारलाई सिम्ताली जनताको भावना, आवश्यकता र अपेक्षा बुझेर मात्रै निर्वाचनमा सहभागी हुन अपिल गरिएको छ।
वर्षौंदेखि सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्ने स्पष्ट योजना र कार्यान्वयनको प्रतिबद्धता लिएर जनतामाझ आउनुपर्ने आवश्यकता छ। चुनावी पम्पलेटमा आश्वासन होइन, व्यवहारमा देखिने परिणाम चाहिएको छ।
सिम्ताली जनताले अब विगतको समीक्षा गर्दै कसले के गर्‍यो, के गर्न सकेन र आगामी दिनमा के गर्न सक्छ ?भन्ने आधारमा आफ्नो प्रतिनिधि रोज्ने समय आएको छ। त्यसैले उम्मेदवारीको चर्चामा रहेका सबैलाई जनताको भावना बुझेर, स्पष्ट कार्ययोजना र जवाफदेहितासहित निर्वाचनमा आउन अपिल गर्दछु।
दीपक जन
-सिम्ता गाउँपालिका -१ सुर्खेत

Lekali KhabarLekali Khabar.comsimta
Comments (0)
Add Comment