नविन पुन
फागुन,३० सल्यान । “आर्थिक, सामाजिक, सांस्कृतिक तथा देश विकासको हाम्रो सान, कुपिण्डेदह बनगाडवासिको पहिचान” भन्ने नाराका साथ सल्यान बनगाड कुपिण्डे नगरपालिकाको १८ औं नगरसभा हिउँदे अधिवेशन नगरपालिकाको सभाहलमा आज सम्पन्न भएको छ। अधिवेशन कर्णाली प्रदेश सभा सदस्य भिम प्रकाश शर्माको प्रमुख आतिथ्यतामा तथा नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको हो।
अधिवेशनमा नगर उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, नगरसभा सदस्य तथा विभिन्न शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नगरसभाले चालु आर्थिक वर्षको कार्यक्रम तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न करिब ४ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको बजेट व्यवस्थापन तथा आवश्यक संशोधन गर्ने निर्णय गरेको नगर प्रवक्ता धनबहादुर पुनमगरले जानकारी दिनुभयो।
त्यसैगरी सभामा नगरपालिकाको सेवा प्रवाह र विकास कार्यलाई व्यवस्थित बनाउन ऐन तथा कार्यविधि पेश गरिएको छ। ती ऐन तथा कार्यविधिहरूले स्थानीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नगरपालिकाले नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै स्थानीय विकासलाई गति दिने विश्वास व्यक्त गरेको जनाएको छ।