विपद्मा मानवताको हात : ईटि युथ क्लबले बाँड्यो बाढीपीडितलाई राहत

विपद्मा मानवताको हात : ईटि युथ क्लबले बाँड्यो बाढीपीडितलाई राह

ललितपुर । ईटि युथ क्लबको पहलमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन गरिएको राहत सामग्री संकलन तथा वितरण अभियानअन्तर्गत विभिन्न स्थानमा राहत सामग्री हस्तान्तरण गरिएको छ।

क्लबले २०८३ भदौ १७ गतेदेखि २५ गतेसम्म एक सातासम्म राहत सामग्री संकलन अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा मनकारी व्यक्तित्व, विभिन्न संघ–संस्था तथा सहयोगी हातहरूबाट प्राप्त खाद्यान्नलगायत आवश्यक राहत सामग्री क्लब परिसरमा संकलन गरिएको थियो। संकलित राहत सामग्रीको पहिलो चरणअन्तर्गत २०८३ असोज ४ गते विदुर नगरपालिका–२ का बाढीपीडित तथा प्रभावित परिवारलाई राहत वितरण गरिएको क्लबले जनाएको छ। राहत सामग्री प्रभावित परिवारसम्म पुर्‍याउन विदुर नगरपालिका–२ का समाजसेवी तथा भद्रभलादमी निरोज खड्गीले आवश्यक समन्वय तथा सहजीकरण गरेका थिए।
त्यसैगरी, अभियानको दोस्रो चरणअन्तर्गत २०८३ असोज ६ गते ईटि युथ क्लबको परिसरबाट राहत सामग्री वितरण गरिएको थियो। भोटेकोशी बाढीबाट प्रभावित भई हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गरिरहेका बाढीपीडित नागरिकलाई लक्षित गरी क्लब भवनबाट राहत वितरण गरिएको हो।
उक्त राहत सामग्री सम्बन्धित बाढीपीडित नागरिकको हातसम्म पुर्‍याउन विदुर नगरपालिका–१ का रोहित श्रेष्ठले आवश्यक सहजीकरण गरेको क्लबले जनाएको छ।
विपद्का बेला पीडित नागरिकलाई तत्काल सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियानले प्रभावित परिवारलाई केही राहत र भरोसा प्रदान गरेको क्लबको भनाइ छ। क्लबले मानवीय सहयोगलाई निरन्तरता दिँदै विपद्का समयमा समुदायसँग हातेमालो गर्ने प्रतिबद्धता पनि जनाएको छ।
राहत संकलनदेखि वितरणसम्मको अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण मनकारी व्यक्तित्व, विभिन्न संघ–संस्था, समाजसेवी तथा सहयोगी हातहरू प्रति ईटि युथ क्लब ललितपुर परिवारले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

Lekali Khabar.com lekali Khabar news
Comments (0)
Add Comment