सल्यान, ६ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रमेश कुमार मल्लले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सल्यानबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मल्ल यतिबेला गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त हुनुहुन्छ। चुनावी माहोललाई थप उत्साहजनक बनाउँदै मल्लले सल्यान जिल्लाका विभिन्न बस्तीहरूमा पुगेर मतदाताको साथ, सुझाव र आशीर्वाद लिइरहनुभएको छ।
यसै क्रममा बनगाड कुपिण्डे नगरपालिका अन्तर्गत पर्ने गर्चे, शंखपीपल चिउरा, चौतारा, मैदुपोखरी, भलाखर्क, गैरागाउँ, लाखर, काराकोट र डुडुवाखोला लगायतका गाउँबस्तीमा चुनावी भेला तथा घरदैलो कार्यक्रम सम्पन्न आज भएका छन्। भेलाहरूमा स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको थियो। गाउँघरका ज्येष्ठ नागरिकदेखि युवासम्मको सहभागिताले चुनावी वातावरणलाई थप उत्साहित बनाएको देखिएको छ।
कार्यक्रममा बोल्दै उम्मेदवार मल्लले सल्यानको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सडक पूर्वाधार विस्तार, स्वास्थ्य र शिक्षाको गुणस्तर अभिवृद्धिलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँबस्तीमा पुगेका मल्ललाई स्थानीयले फूलमाला, खादा तथा अबिरले स्वागत गरेका थिए। धेरै स्थानमा युवाहरूको उल्लेखनीय सक्रियता देखिएको थियो भने महिलाहरूको सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।
स्थानीयवासीहरूले खानेपानी, सिँचाइ, सडक स्तरोन्नति, स्वास्थ्यचौकी स्तरोन्नति र रोजगारीका विषयमा आफ्ना मागहरू राखेका थिए ।उम्मेदवार मल्लले प्रत्येक टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको समस्या सुन्ने र समाधानका लागि प्रतिबद्ध रहने बताउनु भएको छ। उहाँले विकासका अधूरा योजनाहरूलाई पूर्णता दिने र नयाँ सम्भावनाहरूको खोजी गरी सल्यानलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउने प्रतिबद्धता दोहो¥याउनुभएको छ।
चुनाव नजिकिँदै जाँदा सल्यानमा चुनावी सरगर्मी बढ्दो छ। उम्मेदवार मल्लको सक्रिय घरदैलो र भेला कार्यक्रमले तारा चिन्हप्रति मतदाताको आकर्षण बढेको छ। प्रत्यक्ष उम्मेदवार रमेश मल्ल र समानुपातिक उम्मेदवार शारदा परियारका साथै आजका विभिन्न ठाउँमा भएका कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेताहरु प्रकाश ज्वाला, टेकबहादुर बस्नेत, भीमप्रकाश शर्मा, कृतिबहादुर पुन, लोकबहादुर डाँगी लगायतले पार्टीको एजेन्डा, योजना विषयमा धेरै विषय राख्नुभएको छ।