नबिन पिएम
असोज, १२ सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं- ४ को नव निर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बिच वडा कार्यालय भवनको नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह हुँदा सेवाग्राहीलाई गुणस्तरीय, प्रभावकारी र सहज सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे । साथै, स्थानीय सरकारको संस्थागत सुदृढीकरण तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणलाई निरन्तर प्राथमिकतामा राखेको बताए ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख बुढाथोकी सहित प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, वडा नं. -४ का वडाध्यक्ष पुष्कर बुढा, वडा नं. -५ का वडाध्यक्ष पिउमले खत्री, वडा नं.- ६ का वडाध्यक्ष गणेशबहादुर बुढाक्षेत्री, कार्यपालिका सदस्य, पूर्वाधार विकास शाखाका इन्जिनियर हस्तबहादुर भण्डारी, नगरपालिकाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा स्थानीय वडावासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वनगाड कुपिण्डे नगरपालिकाले वडा नं. ४ को वडा कार्यालय भवन सहित हालसम्म नगरपालिकाका १२ वटा वडा मध्य १० वटा वडाका प्रशासनिक भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको बताएको छ।
नवनिर्मित वडा कार्यालय भवन ९७ लाख ५ हजार रुपैयाँ (भ्याटसहित) लागत अनुमानमा टेन्डर भएको थियो। भवन निर्माणका लागि शिव शक्ति प्रिज्म, बाँकेसँग ६३ लाख १५ हजार रुपैयाँमा सम्झौता गरिएकोमा हालसम्म ६० लाख ५० हजार रुपैयाँ भुक्तानी भएको जनाइएको छ।
नवनिर्मित भवनमा सेवाग्राहीलाई सहज हुने गरी ६ वटा कोठा र शौचालयसहितका आवश्यक संरचना निर्माण गरिएको छ। नयाँ भवनबाट वडा कार्यालयका प्रशासनिक सेवा थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष पुष्कर बुढाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव नवीन विष्टले गरेका थिए ।