रोल्पाको गाउँबाट कम्युनिस्ट आन्दोलनको उच्च तहसम्म : जयपुरी घर्तीको संघर्षशील राजनीतिक यात्रा

जयपुरी घर्ती नेपालको वामपन्थी राजनीतिक आन्दोलन र महिला जागरणकी एक निष्ठावान्, सादगी र प्रभावशाली नेतृ हुन्। वर्ग-सङ्घर्ष र सामाजिक रूपान्तरणको भट्टीबाट खारिएकी घर्तीले रोल्पाको विकट भूगोल र सामान्य गरीब किसान परिवारबाट सुरु गरेको राजनीतिक यात्रा नेपालको व्यवस्थापिका संसद र कार्यपालिकासम्म सफलताका साथ पुगेको छ। बाल्यकालदेखि नै समाजमा व्याप्त जातीय, वर्गीय र लैङ्गिक शोषणलाई प्रत्यक्ष भोगेकी उनले वि.सं. २०४६ को जनआन्दोलनका क्रममा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक जीवनको सुरुवात गरेकी थिइन्।
वि.सं. २०५२ मा माओवादी जनयुद्ध सुरु भएपछि उनी आफ्नो घरपरिवार र व्यक्तिगत सुख-सुविधालाई छोडेर पूर्णकालीन कार्यकर्ताका रूपमा भूमिगत भइन्। दुर्गम पहाड र गाउँ-गाउँमा पुगेर जनतालाई सङ्गठित गर्ने क्रममा उनले थुप्रै कष्टसाध्य र कठिन चुनौतीहरूको सामना गरिन्। जनयुद्धकै क्रममा उनले लामो समयसम्म अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षका रूपमा रहि समग्र महिला आन्दोलनको नेतृत्व सम्हालिन्। त्यस समयमा उनले उत्पीडित, दलित, जनजाति र दूरदराजका ग्रामीण महिलाहरूलाई आफ्ना हक र समानताका लागि जागृत गराउन अतुलनीय योगदान पुर्याइन्।
नेपालमा शान्ति प्रक्रियाको सुरुवात र राजनीतिक रूपान्तरणसँगै जयपुरी घर्ती संसदीय राजनीतिमा प्रवेश गरिन्। वि.सं. २०६४ को ऐतिहासिक संविधान सभा निर्वाचनमा उनी रोल्पा क्षेत्र नं. १ बाट अत्यधिक मतका साथ निर्वाचित भइन्। संविधान निर्माणका क्रममा संविधान सभामा बसेर उनले मौलिक हक, महिला अधिकार, समानुपातिक-समावेशी प्रतिनिधित्व र उत्पीडित समुदायका पक्षमा दह्रो आवाज उठाइन्। त्यसपछि वि.सं. २०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीको जिम्मेवारीमा पुगिन्। मन्त्री पदमा रहँदा उनले हिंसापीडित महिलाहरूको पुनर्स्थापना, दुर्गमका महिला लक्षित चेतनामूलक तथा आयआर्जनका कार्यक्रम र ज्येष्ठ नागरिक एवम् बालबालिकाका हक-हितका लागि नीतिगत पहलहरू अगाडि बढाइन्।
वि.सं. २०७४ को प्रतिनिधि सभा निर्वाचन पश्चात् उनले व्यवस्थापिका संसद अन्तर्गतको अत्यन्तै महत्त्वपूर्ण शिक्षा तथा स्वास्थ्य समितिको सभापतिको रूपमा नेतृत्व सम्हाल्ने अवसर पाइन्। उनको यो कार्यकाल वैधानिक, पारदर्शी र जनपक्षीय निर्णयहरूका कारण विशेष चर्चामा रह्यो। समितिको सभापति छँदा उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि व्यापक छलफल गराई सर्वसाधारण नागरिकको पहुँचमा स्वास्थ्य शिक्षा पुर्याउन र चिकित्सा क्षेत्रका बेथिति अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलिन्। विशेष गरी रोल्पामा सैयौ बिध्यालय र
रोल्पाको विकट गाउँहरुमा एक पालिका एक अस्पताल बनाउने कार्यलाइ पुर्णता दिइन।जयपुरी घर्ती जतिसुकै उच्च पदमा पुग्दा पनि जयपुरी घर्तीले आफ्नो सादगी, निष्ठा र जनताप्रतिको उत्तरदायित्वलाई कहिल्यै गुम्न दिइनन्। सत्ता र शक्तिमा पुगेर पनि विलासिताभन्दा टाढा रही निरन्तर निष्ठाको राजनीति गर्नु उनको सबैभन्दा ठूलो विशेषता हो। यसैकारण पनि उनको योगदान इतिहासमा सधैँ स्मरणीय रहनेछ।
हाल उहाको योगदान, क्षमता, समर्पण र त्यागलाई मुल्यांकन गरि नेपाली कम्युनिस्ट पार्टिले उच्चस्तरिय केन्द्रिय संयोजन समिति सदस्यको जिम्मेवारी प्रदान गरेको छ। यो जिम्मेवारी प्रदान गरे सङ्गै उहालाइ पार्टिले न्याय गरेको आकलन गरिएको छ।

Lekali Khabar.com lekali Khabar news
Comments (0)
Add Comment