एसियाडमा पदकको आशा : नेपाली उसु टोलीलाई शुभकामनासहित बिदाइ

  • काठमाडौं । जापानको आइची–नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन लागेको २०औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने नेपाली उसु टोलीलाई विशेष समारोहबीच औपचारिक रूपमा बिदाइ गरिएको छ।
    नेपाल उसु महासंघद्वारा आयोजित बिदाइ समारोहमा एसियाडमा नेपालको प्रतिनिधित्व गर्न लागेका खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई शुभकामनासहित बिदाइ गरिएको हो। कार्यक्रममा वक्ताहरूले खेलाडीहरूलाई उच्च मनोबल, अनुशासन र खेलभावनाका साथ प्रतिस्पर्धामा उत्रिँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा उँचो बनाउन आग्रह गरे।

यस पटकको एसियाडमा नेपालबाट उसुका १० जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। टोलीमा ७ पुरुष र ३ महिला खेलाडी रहेका छन्। नेपालले उसुका प्रमुख दुई विधा थाउलो र सान्सौँ मा प्रतिस्पर्धा गर्नेछ।
नेपाली टोलीमा विजय सिन्जाली, हरिप्रसाद गोले, राजीव तामाङ, सुस्मिता तामाङ, दीपक हमाल, सविता राई, रोहित चुनारा, अमर सुनार, सन्जिव महर्जन र रिता ठकुल्ला रहेका छन्। टोलीलाई प्राविधिक रूपमा सक्षम बनाउन तथा उत्कृष्ट प्रदर्शनका लागि तयार पार्न प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण रहनेछ। थाउलो टोलीको प्रशिक्षकमा प्रकाश महर्जन तथा सान्सौँ टोलीको प्रशिक्षकमा तुल्सीनन्द वज्राचार्य रहेका छन्। यस्तै, प्रतियोगितामा निर्णायकका रूपमा मन्जुर महर्जन ले सहभागिता जनाउनेछन्।

बिदाइ समारोहमा प्रतिनिधिसभा सांसद प्रभा कार्की, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य पवन शाही, नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना ‘बिश्वास’ लगायत महासंघका पदाधिकारी, उसुका मुख्य प्रशिक्षक, प्रशिक्षक तथा खेलकुदप्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा वक्ताहरूले नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उच्च राख्ने विश्वास व्यक्त गरे। उनीहरूले लामो समयको प्रशिक्षण, निरन्तर मेहनत र अनुशासनलाई प्रतिस्पर्धामा आत्मविश्वासका साथ प्रस्तुत गर्न खेलाडीहरूलाई प्रेरित समेत गरे।
यसैबीच, बिदाइ समारोहमा खेलाडी तथा अफिसियलहरूको हौसला बढाउन ‘संगथा इन्भल्भ टुगेदर’ नामक संस्थाले विशेष सहयोग गरेको थियो। संस्थाको तर्फबाट एसियाडमा सहभागी हुने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई आकर्षक टिसर्ट प्रदान गरी सम्मान गरिएको थियो।

लामो समयको कठोर प्रशिक्षणपछि जापान प्रस्थानको तयारीमा रहेको नेपाली उसु टोली पदक जित्ने दृढ संकल्पसहित उत्साहित देखिएको छ। अन्तर्राष्ट्रिय स्तरको ठूलो प्रतियोगितामा नेपाली खेलाडीहरूको प्रदर्शनले नेपालको खेलकुद क्षेत्रमा थप उत्साह र नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।
नेपाल उसु महासंघले पनि खेलाडीहरूको तयारी, मेहनत र आत्मविश्वासलाई आधार मान्दै एसियाडमा उल्लेखनीय प्रदर्शन गर्ने तथा देशका लागि पदक भित्र्याउने विश्वास व्यक्त गरेको छ।

Lekali Khabar.com lekali Khabar news
Comments (0)
Add Comment